काठमाडौँ, मंसिर १६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश अधिवेशनको उद्घाटन गरेका छन्। आज दिउँसो देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल रुपमा संयुक्त रुपमा उद्घाटन गरेका हुन्। ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’लेखिएको ब्यानर सार्वजनिक गरेर उद्घाटन गरेका हुन्।
भर्चुअल उद्घाटन गर्दै देउवाले सबैको ध्यान अब चुनावमा हुनुपर्ने बताए। ‘१४ औँ महाधिवेशनको संघारमा, ऐतिहासिक प्रदेश अधिवेशनमा छौँ। बीपी कोइराला र अन्य नेताले छोडेर जानु भएको विचारको आधारमा कांग्रेस अघि बढिरहेको छ,’ उनले भने, ‘लोकतन्त्र बलियो भयो भनेमात्र विकास हुन सक्छ। त्यो कांग्रेसको काँधमा छ। प्रदेश महाधिवेशनले नेपाली कांग्रेसलाई थप मजबुत बनाएर जनविश्वास कसरी जित्ने भन्ने छलफल हुनेछ भन्ने विश्वास छ। हाम्रो ध्यान ध्यान चुनावतर्फ हुनुपर्छ।’


























