मंसिर १६ । अभिनेता एसराज गराच पछिल्लो समय बेव सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन्। उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरु बेला–बेलामा सार्वजनिक भैरहेका छन्। नृत्यमा पारंगत यी अभिनेताले अभिनय गरेका पिरती बस्यो, सुरिताको दिदी, पिरतीको लुडो आदि गीतहरु पछिल्लो समय टिकटकमा समेत भाइरल भएका छन्।
यसैबीच केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीतको सिक्वेल अर्गात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ। गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन्। ‘मशानघाट–२’ का शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन्। गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ।
केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन्। दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो।


























