चितवन, मंसिर १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टीहरुले झगडा र कमजोरी छताछुल्ल पार्दा वाह्य शक्तिले खेल्न पाएको बताएका छन्।
नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रम चितवनमा बोल्दै उनले आफ्नै झगडा र टुटफुटमा लागेर दोष जति बाह्य शक्तिलाई मात्र दिन नमिल्ने बताए।
सबैभन्दा बढी झगडा कम्युनिष्ट आन्दोलनमा भएको भन्दै कम्युनिष्ट पार्टीहरुले औकात देखाउँदा वाह्य शक्तिले खेल्न पाएको उनको भनाइ छ।
राजनीतिक दलहरुले जनता समक्ष आफूहरुका कारण समस्या परेको भन्दै माफि माग्नुपर्ने बताए। उनले २००६ सालदेखि नै वाम शक्तिहरुमा अन्तरविरोध र एकताहरु हुँदै आएको भन्दै जनताले सबै कम्युनिष्ट एक ठाउँ होस् भन्ने चाहे पनि त्यो व्यवाहारमा सम्भव नदेखिएको उल्लेख गरे।
राजनीतिक पार्टीहरुमा एक अर्कालाई दोष लगाउनबाहेक केही उपलव्धी नभएको उनको भनाइ थियो।

























