काठमाडौं, कार्तिक २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एशोसिएशन र राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सोमबार छलफल भएको छ।
छलफलमा बारले प्रधान्यायाधीश राणाको राजीनामा बटमलाइन भएको स्पष्ट पारेको छ। सोमबारको छलफलबारे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटमलाइन हो भन्ने कुरा न्यायाधीशहरुसँग भनेका छौँ। राजीनामाका लागि सहयोग गर्न आह्वान गरेका छौँ।’
जवाफमा न्यायाधीशहरुले आपसी छलफल गरेर मंगलबार फेर बारसँग छलफल गर्ने बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले मंगलबार पनि न्यायाधीशहरुसँग छलफल हुने बताए।
सोमबारको छलफलमा केही न्यायाधीशहरु अनुपस्थित भएको विषयमा बाहिर गलत हल्ला भएको उनले दाबी गरे। मंगलबारका छलफलमा सर्वोच्चका सबै न्यायाधीशहरु सहभागी हुने बताए।


























