काठमाडौँ, कार्तिक २८ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।
आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सात प्रदेशमा अधिवेशन गराउन केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको हो। प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोक्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ।
बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति पनि गठन गरेको छ। महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेलाई दिइएको छ। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको भने प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन्।
बैठकमा नीति र नेतृत्व महाधिवेशन फरक–फरक गर्ने गरी महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव पेश गरेका छन्।
प्रवक्ता शर्माले अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए। बैठकमा निर्वाचन समितिले गरेको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने प्रस्ताव पनि पेश भएको शर्माले बताए।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने तय भएको छ।


























