कार्तिक २० । अक्षयकुमार-कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’ले नेपाल र भारतीय बक्सअफिसमा ‘ब्लकबस्टर’ ओपनिङ गरेको छ।
बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार भारतमा २६.२९ करोड कमाइ गरेको छ। यो कमाइसँगै ‘सूर्यवंशी’ अक्षयकुमारको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ।
यसअघि अक्षयको ‘मिसन मंगल’ले २९.१६ करोड कमाएको छ। कोभिड-१९ महामारीपछि लयमा फर्कन संघर्ष गरिरहेको भारतीय फिल्म बजारमा यो कमाइ अपेक्षित नरहेको व्यापार समीक्षकले जनाएका छन्।
भारतको महाराष्ट्रमा अहिले पनि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न प्रशासनले अनुमति दिएको छ। सूर्यवंशीको उक्त भारतीय कलेक्सनको ५० प्रतिशत हिस्सा महाराष्ट्र राज्यको छ। २० प्रतिशत कलेक्सन चाहिँ कोभिड-प्रोटोकल (५) प्रतिशत अकुपेन्सी०ले रोकिएको छ।
नेपाली बक्सअफिमा समेत उछाल
कोरोना महामारीको कारण झन्डै २० महीनापछि हल खुलेपछि उछाल कमाइ गर्ने पहिलो फिल्म बनेको छ ‘सूर्यवंशी’। बहुप्रतीक्षित फिल्म र तिहारको बिदाको कारण रिलिजको पहिलो दिन शुक्रबार नेपाली बक्सअफिसमा दर्शकको घुइँचो लाग्यो।
नेपालका सय हलबाट रिलिज भएको ‘सूर्यवंशी’को ओपनिङ अकुपेन्सी ७० देखि ८० प्रतिशत थियो। नेपाली प्रशासनले हलहरुलाई ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति दिएका छन्। शनिबार भाइटीकाको दिनमा समेत अपरान्हको सोजहरु हाउसफूल छन्।
नेपालमा रिलिजको पहिलो दिनमा फिल्मले लगभग ७० देखि ८० लाखको बीचमा कमाइ गरेको अनुमान गरिएको छ। शनिबार पनि ‘सूर्यवंशी’को नेपाल कमाइ यही अनुपातमा रहनेछ। पहिलो सप्ताहन्त फिल्मले नेपाली बक्सअफिसमा २ करोड ग्रसको बिन्दू पार गर्न सक्ने आंकलन छ।
वितरक व्यांकटेस फिल्मले आगामी साता सूर्यवंशीको नेपाल कमाइको आधिकारिक कारोबार सार्वजनिक गर्ने भएको छ। वितरक मनोज राठीले पहिलो सप्ताहन्त सकिएपछि कमाइ सार्वजनिक हुने जनाए।


























