विराटनगर, कार्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मतबिभाजन हुदैछ।
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए। तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो। त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने बताएका छन्।
यसैबीच विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सोमबार बस्ने प्रदेशसभा बैठक अघि आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सहभागी थिए।
९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन्। जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन्।


























