कार्तिक ७ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुँदैछ।
आज बस्ने प्रदेशसभा बैठकमा आचार्यले गत शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।
दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन्। गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए। भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ। तर पार्टी फुटेपछि प्रदेश-१ मा एमालेका ४१ सांसद छन्। त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन्।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन्।


























