असोज २६ । यो वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ।
यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो।यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ। यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ।
पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन्। उनका अनुसार यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ।
मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ।


























