काठमाडौं, असोज २४ । वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन्।
नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन्। दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए।
प्रदेशमा ५६ सांसद रहेको एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ। एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन्।
१०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ। भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ। तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ।
तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन।
४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्याउन सक्दैन।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन्।
यो समीकरणमा कुनै परिवर्तन नआए शाक्य मुख्यमन्त्री पदमा अल्पमतमा पर्ने निश्चित छ।


























