चितवन २४ असोज । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डाँडाको वर पीपल’ को ‘देउराली बनेछ ढुंगाको’ बोलको गीतले दर्शकको मायाभन्दा घृणा धेरै बटुलेको छ। सेप्टेम्बर १९ तारिखमा बूढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको उक्त गीतले अक्टोवर १० सम्म आइपुग्दा १० हजार लाइक पाएको छ भने १६ हजार डिस्लाइक कमाएको छ। गीतले भ्युज भने मुस्किलले दुई लाख ५६ हजारभन्दा बढी कमाएको छ।
स्वर्गीय गायक खेमराज गुरूङ र गायिका रीमा गुरूङको आवाजमा रहेको गीत मन नपराएर त्यस्तो भएको होइन, यो त चलचित्रका निर्देशक शोभित बस्नेतको अभिव्यक्तिको असर हो। शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत पुरानो पुस्ताका कलाकारहरूलाई लिएर नयाँ चलचित्र बनाएका शोभितले केही दिनअघि राजेश हमाललाई महानायक मान्न नसकिने अभिव्यक्ति दिएका थिए। त्यसैको सजाय देउराली बनेछ ढुंगाकोले भोग्न बाध्य भएको हो।
गीतलाई लाइकभन्दा डिस्लाइक बढी आउन थालेपछि शोभितले बोली फेरेर महानायक राजेश हमाल नै भएको दाबी गरेका छन्। लाइक गर्नेको तुलनामा डिस्लाइक गर्नेको संख्या डेढ गुणाभन्दा पनि बढी छ। दसैँमा प्रदर्शन मिति तोकिसकेको चलचित्रको एउटै गीतबाट चलचित्र नचल्ने निश्चितप्रायः भएपछि यतिबेला शोभित तनाबमा छन्।

ट्रेलरमा लाइक र डिस्लाइक बराबर
चलचित्रको ट्रेलरले समेत लाइक र डिस्लाइक बराबर पाएको छ। यो सामग्री तयार हुँदासम्म जम्मा ९५ हजार ६०० दर्शक पाएको ट्रेलरले चार हजार ५०० लाइक पाएको छ भने त्यति नै डिस्लाइक पाएको छ। अक्टोवर ३ तारिखमा बूढासुब्बा डिजिटलबाट सार्वजनिक भएको ट्रेलरबाट पनि दर्शकको साथ कति छ भनेर सोझै मूल्यांकन गर्न सकिने आधार बनेको छ।
यसले कुनै पनि चलचित्र या गीत संगीतको मूल्यांकन गर्न सक्ने सबैभन्दा ठूलो व्यक्ति नै आम दर्शक भएको पुष्टि गरिदिएको छ। यस गीतमा डिस्लाइक मात्र नभई प्रतिक्रिया पनि अधिकांश नकारात्मक नै छ। कतिपयले चलचित्र हेर्नै नजानेसमेत बताइरहेका छन्।
कोरोना महामारीपछि बिस्तारै सल्बलाउन खोजेको नेपाली सिने क्षेत्रमा नै बज्रपात पर्ने गरी दर्शकको माया गुमाएपछि के गर्लान्, शोभित ? प्रश्च उब्जिएको छ। नेपाली चलचित्र क्षेत्रको कुनै पनि गीत संगीतमा यसरी लाइकभन्दा डिस्लाइक धेरै आएको घटना विरलै भटिन्छन्।
भिडियो हेर्नुहोस्ः


























