चितवन, असोज १२ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई अर्पण गर्ने निर्णय गरिएको छ।
‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ।
त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकाछन्।
वि.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो। १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु.तीन/तीन लाख रहेको छ। वि.स. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।
दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरि प्रतिष्ठानका जीवा लामिछानेले बताए।


























