चितवन असोज ८ । जिल्ला प्रहरी कार्यालय चितवनले चोरी गर्दै हिँडेकी एक महिलालाई पक्राउ गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष २४ की पुष्पा सिटौलालाई असोज ६ गते चितवनको भरतपुर ११ बाट पक्राउ गरेको हो। साथमा फलामको रड बोकी हिँडेकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
चितवनको भरतपुर १० बस्ने सावित्री दवाडीको घरबाट गरगहनासहित नगदसमेत चोरी गरेको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट १४ हजार ३५५ रुपैयाँ नगद, सुनको मुन्द्रा चार थान, फलामको रड एक थान, कैँची एक थान, पर्फ्युम एक थान, विवो कम्पनीको मोवाइल एक थान र विभिन्न खालका ११ वटा फोटासमेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।
पक्राउ परेकी महिलामाथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए। पक्राउ परेकी महिलाले अपराध गरेको ठहर भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।


























