काठमाडौं, असोज ७ । सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रीको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो। सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन्। तर सहमती भइनसकेको बताउँदै आएका छन्।
यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन। आज (बिहीबार) अपरान्ह पनि बैठक बस्ने भएको छ।
बुधबारको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए।


























