काठमाडौं, असोज ६ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रिस्तरीय बैठक स्थगित भएको छ। सार्क सचिवालयले मंगलबार सबै सदस्य मुलुकलाई पत्र लेखेर स्थगित भएको जानकारी दिएको हो।
सदस्य मुलुक नआउने निश्चित भएपछि परराष्ट्र मन्त्रालयको आग्रहमा सचिवालयले सदस्य मुलुकलाई पत्र लेखेको हो। परराष्ट्र मन्त्रालय स्रोतले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार जारी राष्ट्रसंघीय महासभामा यो वर्ष सार्कको साइडलाइन बैठक हुनेछैन।
वर्षेनी राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्कको अनौपचारिक मन्त्रिपरिषद् बैठक हुने परम्परा छ। तर, अफगानिस्तानमा सिर्जित नयाँ संकटपछि भारत लगायतका मुलुकले सहभागि नहुने जानकारी सचिवालयलाई दिएका हुन्।
सार्क बैठक नहुने भएपछि परराष्ट्रमन्त्रीले अब नेपालको तर्फबाट राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएका छन्। स्रोतका अनुसार असोज ११ गतेको छेकोमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्रमन्त्रीको रुपमा कांग्रेस नेता डा.नारायण खड्काले आज सपथ लिँदैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आएपछि प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। अब परराष्ट्रमन्त्रीको नेतृत्वमा परराष्ट्रसचिव भरतराज पौड्याल, राष्ट्रसंघीय नियोगका एक सहसचिव र एक अधिकृत सहभागि हुने नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्नेछ।


























