काठमाडौं, असोज २ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने बताएका छन्। शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिद्वारा आयोजित ‘विधायिकी खुलापन-लोकतन्त्र मेला’ कार्यक्रममा सम्बोधन गर्दै उनले त्यो लोकतान्त्रिक हुने बताए।
कार्यक्रममा विभिन्न कार्यपत्र र त्यसमाथि आएका सुझावपछि बोल्दै सभामुख सापकोटाले भने, ‘विघटनको सम्बन्धमा सुझाव आएको छ। प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्नुपर्छ। अथवा, प्रतिनिधि सभाले मात्रै गर्नुपर्छ। त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक हुने छ। त्यो सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मान हुनेछ।’
उनले विधिवत् रुपमा प्रतिनिधि सभामा प्रस्ताव पेश गर्ने र राष्ट्रको आवश्यकता र जनताको चाहना नै विघटन रह्यो भने मात्रै विघटन गरिनुपर्ने व्यवस्था राखिनुपर्ने उनको भनाइ छ।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी राखेका नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल प्रतिनिधि सभाबाट प्रस्ताव पारित गरेर मात्रै विघटन हुनुपर्ने प्रस्ताव राखेका थिए।
‘संसद्लाई संविधानको धारा ७६ बमोजिम विघटन गर्नुपरेको अवस्थामा प्रतिनिधि सभाबाट त्यस प्रयोजनका लागि प्रस्ताव पारित गरेपछि मात्रै विघटन हुन्छ भन्ने व्यवस्था राखिदिनुस् न संविधानमा’, उनको आग्रह थियो, ‘त्यसपछि प्रतिनिधि सभा विघटन हुने सम्भावना कमै रहन सक्छ। त्यसले गर्दा संविधानको आयु पनि सुनिश्चित हुनसक्छ।’


























