काठमाडौं, असोज १ । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ। नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो। नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो। यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ।
नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आएको छ । त्यसमध्ये ५० लाख डोज खरिद गरिएको हो भने बाँकी अनुदान सहयोगमा प्राप्त भएको हो। सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने रणनीति बनाएको छ। सोही अनुसार खोप आपूर्ति भइरहेको छ।
Facebook Comments


























