काठमाडौं, भदौ २४ । नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबारै भेटवार्ता भएको छ।
एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो। बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन्। सो भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए। उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए। उनले सरकारले धारणा बनाएपछि एमालेले पनि आफ्नो धारणा बनाउने जवाफ एमसीसी प्रतिनिधिमण्डललाई दिएका हुन्।
ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो। तर तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए। अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन्।
सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्व अडान परिवर्तन गरेका छन्। उनले देउवा सरकारसँग बहुमत छ अनुमोदन गरे भैगो नि भन्ने गरेका छन्।
नेपालमा रहँदा एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने छ। पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेको हो।


























