भदौ १६ । तालिबानले नयाँ इस्लामी सरकार छिट्टै बनाउने भएका छन्। धार्मिक नेता हैबतुल्लाह अखुन्दजादालाई देशका सर्वोच्च नेता बनाउन लागिएको एक तालिबान अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए।
अखुन्दजादा अहिले कन्दहारमा छन् र उनलाई जाईम वा रहबर भनी पुकारिनेछ। उनको पद इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको जस्तो हुनेछ।
नयाँ सरकारको घोषणा ठ्याक्कै कहिले गर्ने हो र त्यसमा समावेशी परिषद् पनि राखिन्छ कि राखिँदैन भन्ने स्पष्ट छैन। नयाँ सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने पक्का छ। मानवीय तथा आर्थिक संकटका कारण अफगानहरू देश छोडेर पलायन भइरहेका छन्।
अमेरिका तथा अन्तर्राष्ट्रिय ऋणदाताले रकम रोकिरहेकाले तालिबानलाई सरकार चलाउन पैसाको पनि अभाव हुनेछ। विदेशी सरकारहरूले तालिबानलाई मान्यता दिने कि नदिने भन्ने विषयमा बहस गरिरहेका छन्।
बिजुली जस्ता आधारभूत सुविधा जोखिममा परेको छ र अफगानहरू खाद्यान्नको मूल्य बढेकाले समस्यामा परेका छन्। कुपोषणको समस्या भयावह छ। सञ्चार तथा गृह मन्त्रालयमा महत्त्वपूर्ण नियुक्ति बिहीवार गरिने सम्भावना छ। अखुन्दजादा सर्वोच्च नेता हुने अनि मुल्ला अब्दुल गानी बारादर सरकार प्रमुख हुने अपेक्षा छ। एजेन्सी


























