काठमाडौं, भदौ १६ । झन्डै ५ महिनापछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा हटाइएको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय गरेका हुन्। त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।
स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ। सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ।
यस्तै आदेशमा भिडभाड हुने कार्यक्रम नगर्न, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न उल्लेख गरिएको छ।
काठमाडौं उपत्यकाका विद्यालय सशर्त खोल्न दिइने भएकाे छ। कोरोना संक्रमणको जाेखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्न विद्यालयलाई निर्देशन दिएको छ।
गोकर्णेश्वर नगरपालिकाले हिजो(मंगलबार)बाट नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आउन थालेका छन्।
‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने।’ आदेशमा भनिएको छ, ‘गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने।’



























