चितवन भदौ १४ । दिल्लीस्थित एपोलो अस्पतालमा लामो समयको उपचारपछि नेपाल फर्किएका नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले नयाँ जीवन पाएको बताउँदै अबको बाँकी जीवन देश र जनताको लागि समाजवादको बाटोमा उन्मुख हुने बताएका छन्। तर, उमेरले ७० वर्ष नाघिसकेको हुँदा पार्टीभित्र कुनै पनि कार्यकारी पदको दाबी नगर्ने बताए। मिर्गौला प्रत्यारोपणपछि आज स्वदेश फिरेका नेता खनालले त्रिभुवन विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘मैले नयाँ जीवन पाएको छु, अबको बाँकी जीवन पुनः राजनीति र समाजवादमै खर्चिने छु। तर, मैले पार्टीमा कुनै पनि कार्यकारी पद चाहिन्छ भन्नु मेरो नैतिकताले दिँदैन।’
आफू बिरामी हुँदा केपी ओलीको कार्यशैलीका कारण देशमा ठूलो राजनैतिक परिवर्तन भएको भन्दै आफूमात्रै हावी हुने ओलीको प्रयासले नयाँ पार्टीको विकास भएको उनले बताए। पार्टीको नयाँ यात्रालाई नयाँ स्क्रिप्ट, नयाँ चिन्तन, नयाँ दृष्टिकोण र नयाँ भावनाको आवश्यकता रहेको उनले बताए। नेकपा एमालेमा जीवनको धेरै समय बिताएको बताउँदै उनले भने, ‘पछिल्लो समय एउटा अहंकारी गुटले पार्टी कब्जा ग¥यो। त्यसले गर्दा पार्टीमा चिरा पर्दै गयो, जनसंगठनमा चिरा पर्दै गयो। त्यसकारण नयाँ पार्टीको जन्म भयो।’
केपी ओली पार्टी सिद्धान्तविपरित हिँडेकाले विगत ९ महिनादेखि नै नयाँ पार्टी जन्माउने तयारीमा रहेको पनि उनले बताए। सकभर पार्टीबाट अलग्गिन हुन्न भनेर हिँडे पनि अहिले बाध्य भएर एमालेबाट अलग हुनपरेको उनको भनाइ छ। पार्टी नयाँ भएकोले हरेक नेता कार्यकर्ताले नयाँ ढंगले संघर्ष गर्ने बेला आएको उनले बताए।
नेता खनाल गत असार २ गते उपचारका लागि भारतको दिल्ली गएका थिए। मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने भएपछि दिदीकी छोरी मेरिना चित्रकारले आफूलाई मिर्गौला दिएर नयाँ जीवन पाएको भन्दै मेरिनाप्रति पनि आभार व्यक्त गरे। आफ्नो उपचारमा केपी ओली सरकारमा हुँदा पनि सहयोग पाएको र हाल शेरबहादुर देउवा सरकाबाट पनि सहयोग पाएको भन्दै दुवै सरकारप्रति पनि उनले धन्यवाद प्रकट गरे । साथै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यलाभको कामना गर्ने नेता कार्यकर्ता तथा शुभचिन्तकलाई पनि धन्यवाद दिए।


























