काठमाडौं, साउन ३० । नेकपा (माओवादी केन्द्र) को राष्टिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरिएको छ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव पेश गरेका हुन्। भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने प्रस्ताव गरिएको छ।
त्यसपछि असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ ।
शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी गराएर विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यलाई ८ समूहमा विभाजित गरेर छलफल सुरु भएको उनले बताए। सबै समूहबाट रिपोर्ट आएपछि अध्ययन गरेर बैठकले निर्णय लिने उनको भनाइ छ।


























