काठमाडौं, साउन ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घर न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र संघर्ष गरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था नआओस्। घरको न घाट भएर बस्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्छौँ।’
उाले कम्युनिष्ट पार्टीमा व्यक्तिवादी हावी भएको टिप्पणी गरे। नेता नेपालले भने, ‘समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुल्यो। अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ। यहाँ सत्ताको मात मौलाएको छ।’
तर, आफूहरुले जनताको सात नछाडेको जिकिर गरे। समस्यालाई छाडेर भाग्ने प्रवृत्तिको आफू नभएको उनको भनाइ छ। ‘समस्यालाई छाडेर भाग्ने नभएर सामाना गरेर धेरै मान्छेलाई साथमा लिएर अगाडि बढ्ने क्षमता राख्छौँ‚’ उनले भने, ‘कम्युनिष्ट घोषणपत्रलाई आत्मसात् नगर्नेले कम्युनिष्ट पार्टी भनेर हिँड्नुको अर्थ छैन। देश जनता र समाजका लागि काम गर्न सक्यौँ भने पार्टी लोकप्रिय हुन्छ। कम्युनिष्ट पार्टी मात्रै नभएर राजनीतिप्रति नै युवाहरुको वितृष्णा पैदा भएको छ।’
पार्टीभित्रको नोकरशाही प्रवृत्ति हावी भइरहेको उनको भनाइ छ। गलत प्रवृत्तिविरुद्ध कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताए। कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु भएकाले चुनौतीबिनाको कुनै पनि पार्टी नभएको नेता नेपालले बताए।
गलत र अहंकारी प्रवृत्तिकै कारणले आफूहरु प्रति जनविश्वास खस्किँदै गएको उनको भनाइ छ।


























