साउन २३ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल- ३’ को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्।
टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा भिड्नेछन्। आज हुने फिनालेमा चारजना मध्ये एकजना ‘द भ्वाइस अफ नेपाल-३’ विजेता घोषित हुने छ।
फिनालेको लागि तयारी पुरा भइसकेको ‘द भ्वाइस अफ नेपाल-३’ शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
‘कोरोनाका कारण फिनाले सीमित दर्शकहरुलाई राखेर द भ्वाइस अफ नेपालकै सेटमै कार्यक्रम सम्पन्न गरिनेछ। भ्याक्सिन लगाएका दर्शकलाई मात्रै शो मा सहभागी गराइनेछ। अनि माक्स पनि अनिवार्य हुनेछ,’ उनले पहिलो पोस्टसँग भने।
शो का केही पार्टहरु रेकर्ड भइसकेको र नतिजा भने आज साँझ प्रत्यक्ष प्रसारणमा नै घोषणा गरिने समेत उनले सुनाए। हरेक शुक्रवार र शनिवार राति ८ प्रशारण हुँदै आइरहेको शो को फिनाले आज शनिवार साँझ ८ बजे हुनेछ।
कोरोना महामारिबिच सुरु भएको शो ‘द भ्वाइस अफ नेपाल ३’ निकै लोकप्रिय बनेको छ। जसकारण शो का धेरै एपिसोडहरु युट्युबको ट्रेन्डिङमा समेत परेका थिए।
शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ। अडियन्सले दिएको भोडको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता हुनेछ।


























