दोहा, साउन १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको अध्यक्षमा डम्बर कुमार यादव निर्वाचित भएका छन्। अर्का प्रतिस्पर्धी रोशन श्रेष्ठलाई हराउदै यादव २०२१-२०२३ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन्।
अनलाइन मार्फत भएको मतदानमा यादवले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी श्रेष्ठले २४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए।
संयोजक अर्यालका अनुसार मोबाइल एसएमएस र इमेलबाट कुल ३७६ मत खसेको थियो। खसेको मतमध्ये ९ मत बदर भएको थियो भने बाँकी ११८ मत निर्धारित समय सकेपछि अनाधिकृत फोन नम्बर र इमेल आएका हुनाले मान्यता नदिएको उनले बताए।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्ष रबिना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा र भक्तवीर राई निर्विरोध चयन भएको समितिले जनाएको छ। महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य केसी चयन भएका छन्।
सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार शिह, मधु सुदन अर्याल, नरेश कुमार यादव र गणेश अर्याल चयन भएका छन्। आईसीसी सदस्यमा वर्तमान अध्यक्ष तेज बहादुर थापा निर्विरोध चयन भएको समितिले जनाएको छ।























