चितवन, साउन १० । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा ९० हजार २२६ ले कमी आएको छ। निकुञ्जमा गत आवमा ९२ हजार २०९ पर्यटक मात्रै घुम्नका लागि आएका अधिकारीले बताए।
त्यस्तै अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका अधिकारीको भनाइ छ। गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेको अधिकारीले जानकारी दिए। अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने बाह्य पर्यटकको सङ्ख्या ज्यादै नै न्यून भएको अधिकारीले बताए।
गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको अधिकारीले जानकारी दिए। गत आवमा कोरोना सङ्क्रमण त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको अधिकारीले बताए।
“निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लगभग बराबर जस्तै छ”, अधिकारीले भने, “तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बाह्य पर्यटकको सङ्ख्या नगन्य मात्रामा आएको देखिन्छ।” निकुञ्जमा अघिल्लो आव २०७६/७७ मा ८९ हजार ४४१ आन्तरिक पर्यटक आउँदा सार्क मुलुकबाट १४ हजार २३९ तथा विदेशी मुलुकबाट ७८ हजार ७५५ पर्यटक आएका अधिकारीले जानकारी दिए।
अघिल्लो आवमा निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ६५३ महिला तथा ५१ हजार ७८८ पुरुष थिए। त्यस्तै सार्क मुलुकबाट छ हजार ६७ महिला र आठ हजार १७२ पुरुष तथा विदेशी मुलुकबाट ३३ हजार ६९४ महिला र ४५ हजार ६१ पुरुषले निकुञ्जको भ्रमण गरेको अधिकारीले बताए।
गत आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन्। त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका अधिकारीले जानकारी दिए। रासस


























