काठमाडौं, साउन ९ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाई निर्देशन दिएका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘युथफोर्स भ्याली कमाण्डर घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएका हुन्।
उनले जनताले राम्रो नठान्ने काम नगर्न पनि निर्देशन दिए। उनले एमाले कानुनी शासनलाई मान्ने पार्टी भएकाले कानूनलाई हातमा नलिन पनि ध्यानाकर्षण गराए। पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान पनि गरे।
त्यस्तै एमालेका नेता महेश बस्नेतले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले एमाले सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने चेतावनी दिए।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन्। कार्यक्रम अघि राष्ट्रिय युवा संघ र युथ फोर्सले र्याली निकालेको थियो। र्यालीका क्रममा उनीहरुले सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए।


























