काठमाडौं, साउन ६ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन्। तर स्पष्टीकरण पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन।
२४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको ‘हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला।’
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने उल्लेख गरिएको छ। तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ।
नेता रघुजी पन्तले नेता नेपाल पक्षको स्थायी कमिटी बैठकपछि भने, ‘स्पष्टीकरण सोध्नु पर्ने विषय हैन। एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन। एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो।’
एमालेले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका २२ सांसदहरुलाई कारबाहीको तयारी अनुसार स्पष्टीकरण सोधेको हो।



























