काठमाडौं, साउन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशीविदेशी शक्तिबाट हमला भइरहेको बताएका छन्।
समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भइरहेको उनको भनाइ छ।
‘समुदायले हासिल गरेका हक अधिकारको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए। त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु,’ बकर इदको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आह्वान गर्दछु।’
उनले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह गरेका छन्।


























