काठमाडौँ, साउन ३ । केपी शर्मा ओलीले विश्वासको पात्र मानेका नेकपा एमालेका सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका नेकपा एमालेका सांसद प्रेम आलेमगर, तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ (किसान), डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढा, दाङबाट निर्वाचित सांसद हीराचन्द्र केसी, मुगुबाट निर्वाचित सांसद गोपाल बमलगायतका सांसदले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेपछि देउवाले सहजै विश्वासको मत हात पारेका हुन्।
जम्मा २४९ सांसदले मतदान गर्दा देउवाको पक्षमा १८३ मत खसेको थियो। विश्वासको मत दिन्न भन्नेमा भने जम्मा ८३ मतमात्रै खसेको थियो। यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसद उभिएका थिए। आइतबार संसद भवनमा भएको मतदानले नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिज्याएको छ। अब प्रधानमन्त्री देउवालाई भने एमालेबाहेकका पार्टीलाई साथमा लिएर काम गर्नुपर्ने दबाब छ। ओली पक्ष नेकपा एमालेमा भने खैलाबैला मच्चिएको छ।


























