काठमाडौं, साउन ३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले प्रतिनिधिसभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने लक्ष्यमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन्।
उनले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा पुनस्थापित भएको गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यहरुलाई वधाई दिँदै स्वागत गरे। सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पुर्याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।
उनले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गरे।
उनले विगतको तुलनामा संसदलाई अपेक्षाकृत वढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको बताए। उनले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको जनाए।
प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम दायित्व पनि थपिएको उनले बताए।

























