काठमाडौं, साउन ३ । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया हुनैलाग्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता रावलले पदबाट राजीनामा दिएका हुन्।
सभामुखलाई सम्बोधन गर्दै नेता रावलले भनेका छन्, ‘अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु।’
‘नेपालको स्वाधिनता, अखण्डताका लागि लडेको थिएँ। आज नेपाल र नेपालीको शीर निँहुरिएको छ। चरम सत्ता र पद लिप्साका लागि अनैतिक चरित्रको घृणित अभ्यास भएको छ। तिनलाई रोक्नका लागि राजनीतिककर्मीको हैसियतले मैले धेरै मेहनत गरेँ। तर उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति स्वेच्छाचारी व्यवहार, तथा देश, जनता र पार्टीको हितभन्दा नीति स्वार्थ अहं प्रतिषोध र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।’ उनले लेखेका छन्, ‘यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु।’



























