चितवन २१ असार । करिब पाँच वर्षयता वातावरण संरक्षण तथा सम्वर्द्वनमा क्रियाशील रहँदै आएको वी आर युथ (वे ग्रुप) नेपालले सोमबार धारापानी आसपासका क्षेत्रमा सरसफाइ गरेको छ। स्वतस्फुर्तरुपमा ‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारा बोकेर सामाजिक कार्ममा होमिएको यो समूहले हरेक हप्ता सोमबार सरसफाइजन्य काम गर्दै आएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कम नभए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफ्नो कर्मलाई निरन्तरता दिँदै आएको वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए। वे ग्रुपले सोमबार २३९ औं शृङ्खलाअन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं. ४ मा रहेको धारापानी टोलमा सरसफाइ गरेको हो।
धारापानी सार्बजनिक मात्र नभई ऐतिहासिक स्थल पनि हो। त्यसैले पनि धारापानी क्षेत्रलाई हरेक दिन सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ। धारापानी टोल विकास संस्थाका अध्यक्ष चिरञ्जिवी भट्टराई, धारापानी संरक्षण, निर्माण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कँडेललगायत स्थानीयको सहभागितामा सोमबार यस क्षेत्रको सरसफाइ गरिएको हो।
यस क्षेत्रलाई स्थानीय सरकारको सहयोगमा संरक्षणको पहल भइरहेको उपभोक्ता समितिका अध्यक्ष टिकाराम कँडेलले बताए। स्वच्छ पानीको मुहान भएकोले यसको संरक्षण गर्नु हरेक नागरिकको दायित्व भएको उनले बताए। यस क्षेत्रमा पानीको स्रोत भएकै कारण बस्ती बसेका बूढापाकाहरुको भनाइ छ।

हाल घरघरै धारोको व्यवस्था भए पनि सामाजिक तथा सांस्कृतिक कर्मको लागि अझै पनि यस क्षेत्रको प्रयोग हुँदै आएकोले यसको संरक्षणमा यहाँका स्थानीय तथा स्थानीय सरकारलगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए। पानीको मुहान संरक्षण र यस आसपासलाई आधुनिक पार्क निर्माणका क्रममा पछिल्लो समय सीमाना जोडिएको जग्गासँग केही विवाद हुन गएकोले यसलाई सहज तरिकाले समस्या समाधानको बाटो अपनाउनुपर्ने उनको भनाइ छ।
धारापानीको पानी झर्ने ठाउँ सार्वजनिक भए पनि मूलको मुहान भने व्यक्तिको नाममा पर्न गएकोले धारापानीकै अस्तित्व मेटिने हो कि भन्ने चिन्ता थपिँदै गएको संरक्षणकर्मीको भनाइ छ। उनीहरुले मुल भएको भागलाई उपभोग नगरिदिन जग्गाधनी ईन्दिरा कँडेलसँग आग्रह गर्दै आएका छन्। तर, जग्गाधनी कँडेलले भने यहाँ संरचना निर्माण गर्ने प्रयास गर्दै आएकी छन्।


























