काठमाडौं, असार १६ । नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ। बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै अब एमालेमा पुरानै संरचना क्रियाशील हुनेछ। प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि डाकिएको जानकारी दिए। आज बसेको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता ज्ञवालीले बताए। सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वतः फुकुवा भएको उनको भनाइ छ।
यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ। यस्तै, यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ।


























