आइतबार दिउँसो चार बज्दै थियो। नारायणगढको सबैभन्दा व्यस्त बजार भनेर चिनिने संगम चोक (सहिद चोक)मा व्यवसाय बन्द गरेर निस्किएका व्यवसायी र केही अत्यावश्यक कार्यालयमा काम गरेर फर्किएका व्यक्तिहरुलाई प्रहरीले अवरोध गर्न थाल्यो। बजार निस्किएका अन्य निजी सवारी र सेवा प्रदायकहरू पनि यसमा परे। जिल्ला प्रशासन कार्यालयले ११ गतेदेखि लागु हुनेगरी निशेधाज्ञाको नयाँ नियम बनाएकोमा सोही नियमानुसार चेकजाँच गर्न प्रहरी बजारमा उपस्थित भएको थियो। तर अचानक चोकमा निस्किएर अबरोध गर्न थालेपछि प्रहरीसमक्ष स्थानीयले आक्रोश व्यक्त गरे।
चितवन जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाका केही निर्देशन परिवर्तन गर्दै केही खुकुलो बनाएको भनेको छ। जस अन्तर्गत निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। यही वैशाख १७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाको नयाँ नियमले बजारका अधिकांश व्यवसायलाई आइतबारदेखि विभिन्न बार छुट्याएर खोल्न पाइने नियम पनि बनाएको छ।
तर प्रशासनले बनाएको यो नियम व्यवसायी तथा सेवाग्राहीलाई भने निल्नु न ओकल्नु बनेको छ। कोरोना भाइरस संक्रमणको जोखिम भन्दै हप्तैपिच्छे परिवर्तन भएको नियमले सर्वसाधारणले भने हैरानी व्यहोर्नु परेको छ।
डेढ महिनासम्म ठप्प रहको व्यवसाय निश्चित समय तोकेर खोल्न दिने अनि व्यवसाय खोल्न र बन्द गरेर घर फर्किने मौका छोपेर चेकजाँच गर्नु प्रहरीको नियतमै खोट रहेको होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष विनोद शर्माले बताए। ‘रोगसँग हामी पनि डराउँछौँ,’ उनले भने, ‘तर ४ बजेसम्म व्यवसाय खोल्न पाउने नियम बनाएर बन्द गरेर बाहिर निस्कँदा रोकेर चिट काट्ने काम त राम्रो भएन नि।’ बन्दपछिको पहिलो दिन भएकोले १२ देखि ४ बजेसम्म बसेर पनि व्यपार नगरेको व्यापारीलाई प्रहरीलाई पैसा बुझाउन आएजस्तो भएको उनले बताए।

बल्ल बजार खुल्न थालेका कारण प्रहरीले जोरबिजोर सबैमा लागू गर्न नहुने उनको सुझाव छ। अवस्था हेरेर छोड्न पर्ने उनको भनाइ छ। प्रशासनले हिँड्न छूट दिएकै व्यक्तिलाई पनि जोरबिजोरको नाममा दुःख दिने काममात्रै गरेको उनको आरोप छ। हप्तैपिच्छे हुने नियम परिवर्तनले सर्वसाधारण अन्यौलमा परेका छन्। ‘बाइल चल्ने रे भन्ने मात्रै ख्याल भो। तर जोर बिजोरको विषयमा ज्ञान भएन,’ उनले भने, ‘सर्वसाधारण सबैले प्रशासनले निकालेको सूचना नहेर्न सक्छ। जतिबेलासुकै रेडियो नसुनिन सक्छ। त्यसैले प्रहरीले अघिल्लो दिन नै माइकिङ गरेर हिँडेको भए सर्वसाधारणले थाहा पाउँथे।’
ब्रम्हपुरमा बाख्रा फार्ममा बिरामी बाख्राको उपचार गरेर फर्किँदै गरेका सत्यम गुप्तालाई पनि प्रहरीले रोक्यो। बिजोर दिनमा जोर नम्बरको सवारीसाधन चलाएको भन्दै आफ्नो कुरा केही नसुनी चिट काटेको उनले बताए। ‘मैले मसँग हिँड्न मिल्ने परिचयपत्र देखाउँदा पनि प्रहरीले हेर्नै मानेन,’ उनले भने, ‘खाली सवारीसाधनको नम्बरमात्रै हेरेर चिट काट्यो।’ निषेधाज्ञाको समयमा पनि हरेक दिन काम गर्दै आएका उनलाई कहीँ रोकिएको थिएन। ‘म हरेक दिन यही परिचयपत्रको आधारमा काम गर्न हिँडिरहेको छु। चोकचोकमा बसेको पुलिसले अहिलेसम्म रोकेको थिएन,’ उनले भने।
आफ्नो साइटको काम गरेर गैँडाकोट फर्किँदै गरेका बिल्डकन कन्स्ट्रक्सनका साइट इन्जिनियर विशाल ढकाल पनि सहिदचोकमा भइरहेको चेकजाँचमा परे। जोर नम्बरको सवारीसाधन चलाउने उनी इञ्जिनियर हुन्। उनीसँग पनि निर्माण व्यवसायीसम्बन्धि परिचयपत्र छ। तर प्रहरीले मोटरसाइकलको नम्बर प्लेट हेरेर मात्रै काम गर्दा जनताले अनावश्यक दुःख र झन्झट व्यहोर्न बाध्य भएको उनले बताए। ‘आजबाट केही लुज भयो भनेको, झन् टाइट भयो,’ उनले भने,’बरु पूर्णरुपमा निषेधाज्ञा हुँदा सहज थियो।’
कार्यालय समय सकिएर घर फर्किने र बजारका व्यवसायीले पसल बन्द गर्ने समयमा मुखैमा बसेर राजस्व असुल्न खोजेको उनको आरोप छ। जोरबिजोर प्रणालीलाई पूर्णरुपमा लागू गर्न सकिने भए पनि प्रशासनले छूट दिएका सवारीसाधनलाई परिचयपत्रका आधारमा सहज तरिकाले हिँड्न दिनुपर्ने उनको भनाइ छ।

भरतपुर-७, बुद्धचोकका विवेक महतो पनि कार्यालयको काम सकेर घरायसी सामान किन्न बजार झर्दा प्रहरीको फन्दामा परे। भरतपुर महानगरपालिकाको कृषि शाखामा कार्यरत उनीसँग दिदी पनि थिइन्। उनकी दिदी स्वयम् सिएमसीको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन्। घरायसी कामको लागि निस्किएकोले उनको साथमा आफ्नो परिचयपत्र थिएन। कार्यालयबाट घरायसी सामान किन्न बजार झरेको भन्दा पनि स्कुटरको नम्बर जोर भएको भन्दै रोकेर चिट काटेको उनले बताए। आफ्नो परिचय बताएर समस्या दिँदा पनि प्रहरीले उल्टै थर्काएर चिट काटेको उनले गुनासो गरे।
दूरसञ्चार, पशुपंक्षीजन्य सामग्री, कृषि उपज, बीऊ बिजन, स्वास्थ्यकर्मी, विकास निर्माणलगायतलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी सवारी सञ्चालन गर्न पाइने भनिएको छ।


























