मुम्बई, असार ८ । अभिनेता टाइगर श्राफ हालका दिनमा आगामी फिल्म ‘गणपत’को तयारीमा व्यस्त छन्। यो फिल्ममा टाइगर ‘बक्सर’को भूमिकामा देखिँदैछन्।
विकास बहलले निर्देशन गर्ने फिल्ममा टाइगरको अपोजिटमा कृति सेनन हुनेछिन्। टाइगर आगामी सेप्टेम्बर २० बाट सुरु हुने यो फिल्मको सुटिङको तयारीमा जुटिसकेका छन्।
फिल्मको सुटिङका लागि निर्देशक विकास र टाइगर उत्साहित छन्। फिल्मको सुटिङ गत वर्षको अन्त्यमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण सुटिङ रोकियो।
‘भारतमा कोरोना महामारी विस्तारै नियन्त्रणमा आइरहेको र सेप्टेम्बर २० सम्ममा अवस्थामा सामान्य हुने समय पर्याप्त रहेकाले फिल्म निर्माण टिमले यो समय छनोट गरेको हो’, फिल्म निकट स्रोतले भनेको छ।
स्पोर्टस ड्रामामा आधारित फिल्म ‘गणपत’ले शुन्य तहबाट संघर्ष गरेर सफलताको शिखर चुमेको एक बक्सरको कथा देखाउनेछ। यसबाहेक फिल्मले बाबुछोराको भावनात्मक बोण्डिङलाई पनि देखाउनेछ। फिल्मका लागि टाइगर यतिबेला मार्सल आर्टिष्टको मद्दतमा बक्सिङ सम्बन्धी तालिम लिइरहेका छन्। उनी मिक्स मार्सल आर्टस सिकिरहेका छन्।
विकासले टाइगरलाई अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिएको अवतारका रुपमा प्रस्तुत गर्ने तयारीमा छन्। फिल्ममा टाइगरको नाम ‘गणपत’ हुनेछ। निर्माताले ‘गणपत’ एक फ्रेञ्चाइजी फिल्म रहेको खुलाउदै फिल्ममा हलिउडस्तरको एक्सन हुने दाबी गरेका छन्। एजेन्सी


























