चितवन ४ असार । शुक्रबार साँझ प्रहरीको भ्यान दुर्घटना हुँदा ६ जना प्रहरी घाइते भएका छन्। जिल्लाको मुग्लिन-नारायणगढ सडकखण्डको निरीक्षण गरेर फर्किने क्रममा भरतपुर २९ स्थित गाईघाट भन्ने स्थानमा दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
घाइते सबैको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। साँझ करिब ५ बजेतिर एसपी अधिकारी सवार बा २ ज ३४७२ नम्बरको प्रहरी भ्यानलाई मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवहाक ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिएको ट्रक र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।
केही दिनयता सक्रिय भएको मनसुनका कारण मुग्लिन-नारायणगढ क्षेत्रमा पर्ने पुलको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसहित एसपी अधिकारीको टोली त्यसतर्फ गएको थियो।

























