चितवन, असार ४ । चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ। निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ। सुखिभार क्षेत्रमा एक सय ७४ गैंडा रहेका छन्। डुमरिया र अर्ना फाँटमा ६३ वटा गैंडा रहेका छन्। अधिकारीले भने, “यो ठाउँमा रहेका गैंडा लगायतका वन्यजन्तुलाई सुख्खा मौसममा समेत पानीको व्यवस्था गरिएको छ।” निकुञ्ज भित्र विद्युत आपूर्ति नहुने भएकाले सोलार सहितको बोरीङ राखिएको हो।
बोरीङले २४सै घण्टा पानी फाल्ने छ। पोखरी २० फिट चौडाइ र ४० फिट लम्बाइका छन्। यस वर्ष निकुञ्जमा ३५ वटा पुराना पोखरी सरसफाइ र मर्मत सम्भार गरिएको छ। यस्तै १६ वटा नयाँ पोखरी खनिएको उनले जानकारी दिए। पुराना पोखरीका लागि रु ३५ लाख नयाँका लागि रु ३२ लाख खर्च गरिएको उनले बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको सङ्ख्या बढेसँगै सुख्खा क्षेत्रहरुमा पानीको व्यवस्थापनमा जोड दिइएको जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरुमा निकुञ्जले घाँसेमैदान र पानीको व्यवस्थापनमा विशेष जोड दिएको छ। ठाउँठाउँमा पानीको व्यवस्थापन भएसँगै गैंडा सहितका दुर्लभ वन्यजन्तु पानीका लागि टाढा जानु पर्दैन। निकुञ्ज हुँदै वग्ने खोलाहरु, चुरेबाट झरेका खोल्साहरुसँगै निकुञ्ज भित्रका ताल तलैयामा वन्यजन्तु पानीका लागि आश्रीत हुन्छन्। रासस


























