काठमाडौं, जेठ २८ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन्।
‘यो सरकारले चुनाव घोषणा गरेको छ। ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन। चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ। संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ। अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो।’
उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए। भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ।’
सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ।

























