मुम्बई, जेठ २८ । आमिर खान, कटरिना कैफ र अभिषेक बच्चनको प्रमुख भूमिका रहेको फिल्म ‘धुम ३’ बक्सअफिसमा फ्लप भए पनि यो फिल्मको सिरिजप्रति फ्यानको क्रेज घटेको छैन। किनकि फ्यानहरु ‘धुम ४’ को प्रतिक्षामा छन्।
यदि यो फिल्ममा सलमान खान र अक्षय कुमार जस्ता बलिउडका ठूला स्टार जोडिए भने फ्यानका लागि यो भन्दा ठूलो खुशी के हुन सक्ला र !
सामाजिक सञ्जालमा ‘धुम ४’ का विषयमा सलमान र अक्षयको नाम जोडेर चर्चा परिचर्चा सुरु भएको छ। कतिपयले निर्माता आदित्य चोपडाले फिल्मका लागि सलमान र अक्षय फाइनल नै भइसकेको भन्ने दाबी गरेका छन्। यद्यपि यो विषयमा निर्माण कम्पनी यशराज फिल्मसले मुख खोलेको छैन।
कामको कुरा गर्दा सलमान ‘टाइगर ३’ को तयारीमा छन्। फिल्ममा उनको अपोजिटमा कटरिना कैफ छिन्। उनी दक्षिण भारतीय फिल्म ‘खिलाडी’ र ‘मास्टर’ को रिमेकको समेत तयारीमा छन्। यी दुई फिल्मबाहेक उनी ‘किक २’ पनि बनाउँदैछन्।
अक्षयको कुरा गर्दा उनी कटरिना कैफसँग फिल्म ‘सूर्यवंशी’ मा देखिँदैछन्। यसबाहेक ‘रक्षा बन्धन’, ‘बच्चन पाण्डे’, ‘अतरंगी रे’ र ‘बेल बटम’ उनका प्रतिक्षित फिल्म हुन्।

























