काठमाडौं, जेठ २२ । एमालेको साधारण सदस्य समेत नरहने गरि निकालिएका वरिष्ठ नेता माधव कुमार नेपालले आज आफू पक्षीय स्थायी कमिटी बैठक डाकेका छन्।
दिउँसो १ बजे डाकिएको बैठकमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल-खनाल पक्षका नेता डा.वेदुराम भुषालले जानकारी दिए।
नेपाल-खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए। निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन्।
आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दैछन्। उनले भर्चुअलमाध्यमबाट जिल्ला कमिटीका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन्। एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन्।
तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन्।


























