काठमाडौं, जेठ १६ । प्रतिनिधिसभा विघटनविरूद्ध एक ठाउँमा उभिएका विपक्षी पाँच दल भावि रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन्।
संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिका कदमबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयत्न भइरहेको नेताहरूले बताएका छन्।
बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन्।
नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएका छन्।


























