चितवन १४ जेठ । चितवन जिल्लामा करिब ६२ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार कुल संक्रमितमध्ये ६१.८ प्रतिशत संक्रमित संक्रमणबाट मुक्त भएका हुन्। कुल संख्याको ३६.६ प्रतिशत संक्रमित भने विभिन्न आइसोलेसनमा छन्। कतिपय होम आइसोलेसनमा छन् भने कतिपय अस्पताल भर्ना भएका छन्।
यस्तै कोरोना भाइरस संक्रमणकै कारण १.६ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्। यो तथ्यांक शुक्रबारसम्मको हो। २०७७ सालको चैतपछि चितवनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो। सोहीअनुसार सक्रिय संक्रमित र मृत्यु हुनेको संख्या केही वृद्धि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अवस्था भयावह नै हुन थालेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले चितवनल जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ।
कोरोना रोकथामको लागि दुई पटक समय थप गरेर यही जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिसकेको छ। निषेधाज्ञा थप गर्दै जाँदा संक्रमितको संख्यामा केही कमी महसुस भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बताउँछन्। तर, नियन्त्रण हुन अझै केही समय लाग्ने हुँदा निषेधाज्ञालाई कम्तिमा जेठ महिनाभर लम्ब्याउनुपर्ने उनी बताउँछन्।
संक्रमण नियन्त्रणतर्फ केन्द्रित हुन थालेकोले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरे धेरै कम हुने उनको बुझाइ छ। देशैभरको तथ्यांकमा भने नेपालमा ७८.१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।



























