– आकाश ओझा
बढ्दै गरेको जनसंख्या र त्यसको माग पूरा गर्नका निम्ति प्राकृतिक स्रोतहरूको विनाशकारीरूपमा उपभोग हुँदैछ। यी सबैको खास जड चाहिँ दिगो र बढी उत्पादन दिने साथसाथै सीमित स्रोत र साधनहरूको पनि संरक्षण गर्ने कृषि प्रविधिहरूको अनुसन्धान, विकास तथा प्रसारको कमी हुनु र प्रभावकारी नीति अभाव हुनु हो। तसर्थ यसलाई मध्यनजर गरी परम्परागत कृषिबाट आज संरक्षण कृषि प्रणालीको विकासक्रम जारी हुँदैछ। संरक्षण कृषि एक खेती प्रणाली हो, जसले माटोलाई न्यून खलबल गर्दै, छापो प्रविधि अपनाएर र वानस्पतिक विविधतालाई बढाएर माटोको स्थायी सुरक्षा सुनिश्चित गर्छ। संरक्षण कृषिका तीन मूल सिद्धान्तहरू हुन्छन्:
१) माटोको कम खनजोत अर्थात माटोलाई एकदमै न्यून खलबल गर्ने। उदाहरणका लागि कम खनजोत प्रविधि, जिरो खनजोत प्रविधि, सीधै रोप्ने प्रविधि।
२) माटोलाई स्थायीरूपमा छोप्ने। उदाहरणका लागि छापो खेती, छापो प्रविधि, नलपरालका फेदको भागलाई माटोमै राख्ने आदि।
३) बालीचक्र पद्धति अपनाउने। विशेष गरि कोशेबालीहरू, बहुबर्षीय बालीहरू, गहिरो जरा हुने बालीहरूलाई बाली चक्रमा समावेश गर्ने। मिश्रितबालीहरू तथा अन्तरबालीहरूको प्रयोग गर्ने।
संरक्षण कृषि प्रणालीको महत्त्व
व्यवस्थित संरक्षणमूलक कृषि प्रणालीमा उत्पादनमा वृद्धि सर्वमान्य छ। जोताइ खर्चको उन्मूलन साथै बिजको आगतको कमीले बाली उत्पादनको लागत घट्छ। उत्पादनमा कुनै वृद्धि बिना पनि (जुन कहिलेकाहीं हुन सक्छ) संरक्षण कृषिले सामान्यतया लागत घटाउँदछ र यसले मुनाफा बढाउँछ। माटोको सतह छोपी तथा माटोलाई कम चलाई खेती गर्दा भुक्षय कम हुन जानुका साथै माटो, जल अनि वायुको गुणस्तर वृद्धिमा मदत पु्र्याउँछ। यी नै संरक्षणमूलक कृषिको सिद्धान्तहरू अपनाउनुका फाइदाहरू हुन्। माटो कम खनजोत गरी, बढीभन्दा बढी बालीका अवशेषहरूले छोप्दा हावाको प्रकोप कम हुन गई धूलो उड्ने सम्भावना कम हुन्छ। विशेषगरी कोशेबाली लगाउँदा माटोमा हुने तत्वहरू बढ्नु, माटोको आकार मजबुत हुनुका साथै झारपातको अतिक्रमण, रोगकीराको आक्रमण कम हुन्छ। संरक्षणमूलक कृषिद्वारा माटोको अर्गानिक पदार्थहरू र कार्बनको सञ्चिति बढ्ने एवम् कार्बनडाइअक्साइड, हरितगृह ग्यासहरूको असर कम हुने अनुमान गरिएको छ। शून्य खनजोतद्वारा पनि जीवाश्म ईन्धनको प्रयोग र हरितगृह ग्यासहरूको उत्सर्जन कम मात्रामा हुन्छ। यसका विभिन्न प्रविधिहरूले खडेरीको प्रभावलाई न्यून गर्नका लागि सघाउ पुर्याँउछन्।
संरक्षण कृषिका साधन
संरक्षण कृषिको दिगोपन स्रोतसाधन संरक्षण गर्ने कृषि यन्त्रको कतिसम्म प्रयोग गरिन्छ भन्ने कुरामा भर पर्छ। संरक्षण कृषिमा प्रयोग गरिने केही औजार यस प्रकार छन्:
१) न्यूनतम खनजोतमा प्रयोग गरिने औजारहरु (रिप्पर्स्, सब सोइलर्स्, छिनो हलो),
२) सीधा बीजिंग औजारहरु (रोपण लाठी, ह्यान्ड जेब प्लन्टर्स्, बीउ सह ड्रिल) र
३) कभर फसल र झारपात व्यवस्थापन औजारहरु (ह्यान्ड वेडर, चक्कु रोलर, जम, वाइपर हर्बिसाइड अप्प्लिकेटर्)।
यी यन्त्रहरूको उपयोगबाट माटोको संरक्षण गर्न, माटोको चिस्यान कायम राख्न कृषि “इनपुट” को क्षमतामा सुधार गर्न, लागत खर्च कम गर्न र अन्य धेरै सुधारहरू गर्न सकिन्छ।
संरक्षण कृषिका विविध पक्षहरू
उन्नत बीउ, बाली विविधिकरण र बाली चक्र कृषिका महत्त्वपूर्ण पक्षहरू हुन्। उन्नत बीउ रैथाने जातभन्दा श्रेष्ठ हुन्छ र यसको धेरै उत्पादन दिन सक्ने आनुवांशिक क्षमताका कारणले गर्दा किसानहरूलाई मनग्य उत्पादन लिन अवसर प्रदान गर्छ। बाली विविधिकरण भन्नाले कुनै नयाँ बाली अथवा नयाँ बालि प्रणाली एउटा विशेष खेतमा थप्नु हो जसले गर्दा लगाइएको बालीको मान बढ्न जान्छ भने बजारीकरणको सम्भाव्यता पनि बढ्छ। यसो गर्नाले कम क्षमता भएका किसानले समेत राम्रो आम्दानी लिन सक्ने, मूल्य परिबर्तन थेग्न सक्ने, मौसमको प्रतिकूल असरबाट प्रभावित नहुने, खाद्य संरक्षण हुने, गाईवस्तुलाई घाँस इत्यादी पनि सुविधा हुने, वातावरण प्रदुषण कम हुने, कम लागत हुने तथा बालीमा लाग्ने रोगकिराको समेत उचित नियन्त्रण हुने र अन्ततः प्राकृतिक अव्ययको समेत सुरक्षा हुन्छ।
यसैगरी बाली चक्र प्रणाली भन्नाले विभिन्न बालीलाई एकै ठाउँमा एकै वर्षभित्र लगाउने अथवा अरू कुनै वर्ष लगाउने प्रक्रिया हो। यसो गर्नाले बालीले फरक मात्रामा खाद्य लिनेगर्छ, जसले गर्दा माटोमा खाद्द्यको संरक्षण हुन्छ। यसैगरी कोसेबाली लगाउने गरेमा माटोको उर्वरशक्ति बढने साथै नाइट्रोजन पनि उपलब्ध गराइदिने हुनाले रासायनीक मलको मात्रा पनि कम लाग्छ। बाली चक्र गरेमा विभिन्न रोग तथा किराहरूको जीवन चक्र पनि तोडिन्छ भने तिनीहरूको बास पनि त्यहाँ हुँदैन जसले अन्ततः प्रकृतिको सुरक्षा गर्दछ।
संरक्षण कृषि नेपालको लागि एउटा उपयुक्त प्रविधि हो। CEREAL SYSTEMS INITIATIVE FOR SOUTH ASIA ( CSISA- Nepal) ले विशेषतः नेपालका पूर्वी र मध्य तराई क्षेत्रमा धान, मकै, गहुँ र मुसुरोजस्ता प्रमुख बालीमा संरक्षण कृषि प्रविधिको प्रवर्द्वन गरेको छ। नेपालको पश्चिमी तराई र सँगैका पहाडी जिल्लाहरूमा मकै विशेष प्रणालीमा संरक्षण कृषि प्रविधिको परीक्षण र प्रवर्द्वनमा संलग्न रहेका छन्। चितवन, बारा, पर्सा, नवलपरासीलगायतका तराईका जिल्लाहरूमा माटो नहिल्याइकन धान रोप्न र बिना खनजोत गहुँ उत्पादन गर्ने प्रविधिको सुरुवात भइसकेको छ। तराई क्षेत्रमा विभिन्न यन्त्र र औजारहरूको परीक्षण र सुधार पनि भइरहेको छ।
संरक्षण कृषिमा आधारित छरुवा-धानखेती प्रविधि (Direct Seeded Rice – DSR)
छरुवा-धानखेती एक स्रोत संरक्षण प्रविधि हो जसमा बीउलाई सीधै सीड ड्रिल मेसिनको मद्धतले मुख्य खेतमा छरिन्छ। परम्परागत पद्धतिमा भन्दा छरुवा पद्धतिमा उल्लेख्य मात्रामा कृषि ज्यामी कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धानखेती पद्धति आकर्षक प्रविधिको रुपमा कृषकहरू माझ आइरहेको छ।
छरुवा-धानका फाइदाहरू:
१. धानको ब्याड (बेर्ना) राख्नु नपर्ने।
२. लगातार पानी जमाइ राख्नु नपर्ने।
३. रोपाइँको भन्दा छरुवा विधिमा धानको बीउ कम लाग्ने।
४. बेर्ना राखेदेखि रोपाइँ गर्ने अवधिसम्म वर्षाको पानीको सदुपुयोग हुने।
५. ३० प्रतिशत पानीको बचत हुने।
६. उत्पादन खर्च कम हुने।
७. मिथेन ग्यासको उत्सर्जनमा कमी हुने।
८. रोप्दा बेर्नााको जरा नचुँडीने भएकोले बेर्ना नमर्ने।
९. रोपेको धानभन्दा १०-१२ दिन अगाडि नै पाक्ने।
जग्गाको तयारी
छरुवा धान पनि हिल्याएर रोपाइँ गरिएको खेतमा त्यसलाई सम्म पारेर गर्न सकिन्छ। यसले मटोको चिस्यानलाई जोगाउन, बिरुवालाई राम्ररी उम्रन र राम्रो धान उत्पादनमा मदत पुर्याउँछ। सो ठाउँको विशेष कारकहरू हेरेर बीउलाई संरक्षण जोताइ अथवा शून्य जोताइ प्रक्रियाले गर्न सकिन्छ। छरुवा धानखेती गर्ने खेत एकदमै समथर बनाएर तयार पारिएको हुनुपर्दछ। यदि खेतमा बहुवर्षीय झारपातको प्रकोप छ भने बिना खनजोत तरिकाले छरुवा धानखेती गर्नु हुँदैन। यस्तो जग्गामा परम्परागत तरिकाले जोतेर छरुवा धानखेती गर्नुपर्दछ। चिम्टाइलो माटो भएको खेतमा जग्गाको तयारी गर्दा रोटोभेटरको प्रयोग गर्नु हुँदैन। जस्तै: हलका बलौटे दुमट वा बलौटे माटोमा सिँचाइ गरेको वा परेको पानी तुरुन्तै सुक्ने हुँदा यस्तो माटोमा छरुवा धानखेती गर्नु हुँदैन। पानी सजिलै निकास गर्न नसकिने खेतमा छरुवा धान खेती गर्नु हुँदैन।
बीउ छर्ने तरिका
बीउ दुई तरिकाले छर्न सकिन्छ:
१) चिसो माटो अवस्थामा
२) सुक्खा माटो अवस्थामा।
यो चाहिँ मौसमको अवस्था र पायक सिंचाइ सुविधामा भर पर्दछ। बीउ उम्रने दर त्यसको गुणस्तरमा भर पर्ने भएकाले प्रमाणित बीउ ९५% उम्रने २०-३० किलो प्रति हेक्टर सुझाव गरिएको छ। गहिराई महत्त्वपुर्ण भएकाले बीउलाई १-२ सेन्टिमिटरमा छर्नु पर्दछ।
जातहरूको छनौट
छोटो अवधिका जातहरु: जस्तै राधा ४, हर्दिनाथ २, सुक्खा धान १, तारा अग्लो अवस्थामा उपयुक्त हुन्छ। मध्ये र लामो अवधिका धान, जस्तै: रामधान, साबित्री, लोकतन्त्र, मिथिला, सुक्खा ४ होचो अवस्थामा पनि प्रयोग गर्न सकिन्छ।
बीउ व्यवस्थापन
बीउलाई १२ घन्टा बोरामा भिजाएर राख्नुलाई प्राइमिङ भनिन्छ। यसले तीब्र गतिमा बीउ उम्रन मदत पुर्याउँदछ। त्यसपछि बीउलाई ऐर ड्राई गरेर इन्कुबेट गरिन्छ। अनि चिसो माटोमा छरिन्छ। सुक्खा माटोमा छर्नाले पूर्व उम्रेको बीउको विकासमा नकारात्मक असर पर्न सक्दछ। राइस ब्लास्ट, ब्राउन स्पोट, फल्स स्मट आदिजस्ता रोगलाई नियन्त्रण गर्न बीउलाई ढुसीनासक औषधिले व्यवस्थापन गर्न सकिन्छ। रोप्ने वित्तिकै सिँचाइ दिन सक्ने प्रावधान नमिलाइकन प्राइमिङ गरेको बीउ वा पूर्व अंकुरण भएको बीउ सुक्खा माटोमा रोप्नु हुँदैन।
मलखाद व्यवस्थापन
छरुवा धान रोप्ने बेला युरिया हाल्नु हुँदैन। युरियाको मात्रा ८०-१२० किलो जातअनुसार फरक पर्दछ र त्यसलाई कम्तिमा ३ स्प्लिट डोजमा प्रयोग गरिन्छ। डिएपी ६० के.जि. प्रति हेक्टर, पोटास ६० के.जि. प्रति हेक्टर र जिन्क सल्फेट २५ के.जि. प्रति हेक्टर आवश्यक पर्दछ। डिएपी मल धान रोप्दा बिउसङ्गै सिड ड्रिलको मदतले हाल्नु पर्दछ।
झारपात व्यवस्थापन
छरुवा धानमा झारपातको समस्या बढी हुने हुँदा त्यसको व्यवस्थापन गर्न आवश्यक छ। बासी व्याड प्रबिधि वा झारनासक बिसादीको प्रयोग वा हाते/यान्त्रिक गोडमेल गरेर झारपातको व्यवस्थापन गर्न सकिन्छ। यदि खेतमा बहुवर्षीय झारपात छ भने पाराक्वाटको प्रयोग गर्नु हुँदैन, यस्तो अवस्थामा ग्लाइफोसेटकोप्रयोग गर्नु पर्दछ। बाली लगाएपछि तर झार उम्रिनुभन्दा पहिला प्रयोग गरिने विषादी (प्रि-इमरजेन्स हर्विसाइड)को प्रयोग गर्नुभन्दा पहिले माटोमा प्रसस्त मात्रामा चिस्यान छ भन्ने सुनिश्चित गर्नु पर्दछ। झार उम्रिसकेपछि हालिने झारपातनाशक विषादी (पोष्ट- इमरजेन्स हर्विसाइड)को प्रयोग गरिसकेपछि यदि माटोमा चिस्यान छैन भने २४ घण्टापछि सिँचाइ गर्नुपर्दछ। यदि पानी परिरहेको छ वा ६ घण्टाभित्र पानी पर्ने सम्भावना छ भने हर्बिसाइड छर्नु हुँदैन।
सिंचाई व्यवस्थापन
राम्रो बाली स्थापनाको लागि छरुवा धानलाई रोपेपछिको पहिलो तीन हप्ता भरपर्दो सिंचाइको आवश्यकता पर्दछ। धानमा गाज आउने अवस्थामा र दानामा दूध पस्ने अवस्थामा पानीको कुनै कमि हुनु हुँदैन। छरुवा धानका लागि राम्रो निकासको व्यवस्था हुनु निकै आवश्यक छ।
(लेखक कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवामा बिएससी कृषि सातौं सत्रान्तमा अध्ययनरत छन्)


























