काठमाडौं, जेठ ८ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुट्दैछन्।
काँग्रेस नेता बालकृष्ण खाँणका अनुसार शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेससहित माओवादी केन्द्र, एमालेको माधव कुमार नेपाल खेमा, जसपाको उपेन्द्र यादव खेमा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमलाई चुनौती दिने गरी निर्णय हुने उनले बताए।
नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन्। प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै प्रतिवादमा उत्रन आह्वान गरिरहेका छन्।


























