काठमाडौं, जेठ ७ । नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन राजनीतिक जीवनकै कठिन दिनको भएको बताएका छन्।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेश गर्दा कुनै पनि पक्षलाई समर्थन नजनाएका उनले एमालेको एकता जोगाउनकै लागि यो निर्णय लिएको बताएका छन्।
उनले आफूले लिएको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें इतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’
सभापति देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र नेकपा एमालेको नेपाल–खनाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गरेका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा एमालेका र जसपाको ठाकुर–महतो पक्षका सांसदको समर्थनसहित १५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।
एमाले खनाल(नेपाल समूहका सांसदले विपक्षी गठबन्धनका तर्फबाटअघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरे पनि सोही समूहमा रहेका नेता भट्टराइले हस्ताक्षर गर्न मानेका थिएनन्।


























