काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रकै विरोध भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्थाको विरोध गर्नु गणतन्त्र कै विरोध भएको बताए।
संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे।
राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौति दिए। राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए।
ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्। “कृपया आउनुस्। राष्ट्रिय सरकार बनाऔं। सहमतिको सरकार बनाऔं। सहमतीका साथ अघि बढौं। अरुको नेतृत्वमा सम्भाव छैन भने मेरै नेतृत्वमा बनाऔं,” ओलीले भने। ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए।
उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरे। उनले लोकतन्त्रलाई स्वस्थ बनाएर जानुपर्ने पनि बताए। नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको हित विपरीत काम गर्ने माधव नेपाल समूहलाई कारबाही गर्ने पनि संकेत गरेका छन्।


























