काठमाडौं, जेठ ३ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशमा उल्लेख छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै मन्त्रीमा नियुक्त भएका चार जनालाई जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अनुशासनको कारवाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो। सोही आधारमा सभामुखले पद मुक्त गरेपछि चार नेता सर्वोच्च पुगेका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने उनीहरूलाई कारवाही गरिएकोमा आपत्ति जनाएको थियो।


























