चितवन, बैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ।
यस्तै, नेपालमा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।


























