काठमाडौं, बैशाख ३० । आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
आज अपराह्न ४ बजे बस्ने बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई समेत बोलाइएको बताइएको छ। बैठकमा पार्टीले सरकारमा दाबी पेश गर्ने विषयमा छलफल हुने बताइएको छ।
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। देउवाले बिहीबार बिहान जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नो निवास बुढानीलकण्ठ मै छलफल गरेका थिए।
गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए।
Facebook Comments


























